काठमाडाैं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झण्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।
राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख बढी नागरिक नागरिकताबिहीन भएका छन् । तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित भएका छन् ।
निर्वाचन आयोगका अनुसार मंसिर ४ को निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको छ । जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना र अन्य १ सय ८५ जना रहेका छन् । तर, नेपाल नागरिकता ऐन २०६३ अनुसार २०४६ चैत मसान्तभित्र नेपालमा जन्मिएका नागरिकका सन्तान नागरिकताबाट वञ्चित भएका हुन् ।
तत्कालिन समयमा २ वर्षभित्र संविधानसभाको चुनावअघि नै त्यस्ता नागरिकले जन्मको आधारमा नागरिकता लिइसक्नुपर्ने सरकारले जारी गरेको आदेश अनुसार १ लाख ९० हजार ७ सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए । तिनै जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान अहिले नागरिकताबिहीन भएका हुन् ।
नागरिकताको सम्बन्धमा लामो समयदेखि काम गर्दै आएका अधिवक्ता सविन श्रेष्ठका अनुसार, तत्कालीन समयमा सरकारद्वारा भएको अल्पकालीन व्यवस्था अनुसार जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तान अहिले नागरिकताबिहीन भएका हुन् ।
