पोखरा । नयाँ वर्षका अवसरमा तनहुँको बन्दीपुरका होटलमा पहिलो पाहुनाले १ रुपैयाँमै बस्न पाउने भएका छन् ।
नेपाली नयाँ वर्षमा बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न वैशाख १ गते बास बस्न पुग्ने पहिलो व्यक्तिलाई १ रुपैयाँमै कोठा उपलब्ध गराइने भएको हो ।
कोरोना माहामारीपछि सुस्ताएको बन्दीपुरमा पर्यटकका निम्ति विभिन्न कार्यक्रम पनि गर्दै आएको छ । सोही अनुसार नयाँ वर्षको अवसरमा पनि पर्यटकलाई आर्षित पार्नको लागी यस योजना बनाएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । तर होटलमा पहिलो चेक इन हुने पाहुनाले मात्र एक रुपैयाँमा कोठा पाउने र, अन्य खानादेखि अन्य सुविधाको भने पैसा लाग्ने पनि उनले बताए । पाहुनाहरुलाई आकर्षित गर्न यतिबेला होटलहरुले आआफ्नो तरिकाले प्याकेजका कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।
प्रधानका अनुसार बन्दीपुरमा दर्ता भएका करिब ७० होटल छन् । कोरोना माहामारीपछि बन्दीपुरका होटल सुनसान जस्तै बन्न पुगेको बताउँदै प्रधानले अहिले कार्यक्रम लिएर पुग्नेबाहेक नियमित आएर बास बस्नेहरु हेर्दा ५० देखि १ सय जनाको हाराहारीमा मात्र पर्यटक रहेको जानकारी दिए।
