काठमाडौं । ‘लम्पी स्किन’ रोगका कारण मकवानपुरमा गाईवस्तु मर्न थालेका छन् । यस रोगका कारण मंगलबारसम्म मकवानपुरमा २७ वटा गाईवस्तु मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका सूचना अधिकारी डा. आभास कोइरालाले मकवानपुरका ४ वटा पालिकाको विभिन्न स्थानमा यो रोग देखा परेको बताए ।
सूचना अधिकारी कोइरालाका अनुसार मकवानपुरको कैलाश, मकवानपुर गढी, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा किसानले पालेको गाईवस्तुमा यो रोग देखा परेको छ । उनले रोगको बारेमा धेरै किसानलाई जानकारी नहुँदा वास्तविक विवरण आफुहरुसँग आइनसकेकाले अन्य पालिकामा पनि यो रोग फैलिएको हुनसक्ने बताए ।
सूचना अधिकारी कोइरालाले अहिलेसम्म मकवानपुरमा ८ सयको हाराहारीमा गाईवस्तुमा यो रोगको लक्षण देखा परिसकेको जनकारी दिए । नेपालमा दुई बर्षअघि देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्ने सूचना अधिकारी कोइरालाले जानकारी दिए । लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट यो रोग सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने उनले बताए ।
रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने सूचना अधिकारी कोइरालाले जानकारी दिए । जिल्लाको मकवानपुर गढी गाउँपालिकामा लम्पी स्किनको प्रभाव सबैभन्दा बढी देखिएको छ ।
