काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई दुई लाख नगद सहयोग गरेको छ ।
बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले सहयोग रकमको चेक खेलाडी काजल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
उनले स्थानीय सरकारले युवा प्रतिभाहरुलाई सहयोग गर्ने नीति रहेको बताउँदै सार्ककी स्वर्ण विजेता काजललाई हौसला र मनोबलका लागि सहयोग गरेको बताए । खेलकुदलगायत गाउँपालिका भित्रका सबैखाले प्रतिभालाई प्रोत्साहित गर्ने आफुहरुको नीति रहेको पनि अध्यक्ष लामाले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले संघीयता कार्यान्वयनको यस अबधिमा स्थानीय सरकारले संघको कार्यालयमा आएर खेलाडीलाई सहयोग गरेको र थप सहयोग गर्ने प्रतिवद्धता जनाएको यो पहिलो पटक रहेको बताउँदै खुसी व्यक्त गरे ।
सहयोग रकम प्राप्त गरेकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठले पनि लिसंखुपाखर गाउँपालिकालाई विशेष आभार व्यक्त गर्दै सहयोगले आफ्नो मनोबल बढाएको बताइन् ।
यहि जेठ १५ गते देखि अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा विश्व भरका २०० देशले सहभागिता जनाउँदै छन् । नेपालका तर्फबाट ८ खेलाडी र २ जना कोच विहिबार आज अजरबैजान प्रस्थान गर्दै छ ।
