रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका नागरिकलाई साक्षी राखेर गाउँपालिका अध्यक्ष केशव महतले आफ्नो पालिकामा भ्रष्टाचार नहुने र हुन नदिने वाचा गरेका छन्।
गाउँपालिकाको वडा नं ३ काङ्बामा जनता सँग जनप्रतिनिधि कार्यक्रममा नागरिकहरूको सवालको जवाफ सँगै अध्यक्ष महतले पालिकामा भ्रष्टाचार नहुने र हुनै नदिने वाचा गरेका हुन। कार्यक्रममा स्थानीय मकरध्वज खड्का, तीर्थ बहादुर तामाङ, हरिबहादुर बुढा लगायतले यातायातको सेवा सुविधा दीर्घकालीन बनाउन आग्रह गरेका थिए।
स्थानीय बुद्धिजीवी मकरध्वज खड्काले वडा नं ३ र पालिकालाई आफ्नो कार्यालय भवन बनाएर संस्थागत विकासमा ध्यान पु¥याउन आग्रह गरे। उनले भने– पहिलो कार्यकाल विवादै विवादका कारण बितेकोले पनि अहिलेको जनप्रतिनिधि सँग नागरिकको ठूलो अपेक्षा छ। तपाइहरूले समयमा वडा कार्यालय र पालिकाको आफ्नै भवन बनाएर त्यहिबाट सेवा सुचारु गर्नुहोस्। खड्काले पालिकालाई सडक कालोपत्रेको विशेष योजना बनाएर अगाडि बढ्न पनि सुझाए। खड्काले सभ्य शैलीमा यातायातको व्यवस्था नहुनुको दुख पोखे।
लिखु तामाकोशी वडा नं ३ मा यातायातको व्यवस्था भै सकेको जवाफ पालिका अध्यक्ष महतले दिए। उनले भने– सडकका कारण यातायातमा समस्या आउने कुरालाई मध्य नजर गर्दै बिग्रेको बाटोको स्तरोन्नति गर्न पालिका लागि सकेको छ। अध्यक्ष महतले लिखु तामाकोशीमा नागरिकको जनचाहना अनुसार काम गर्ने कोसिस गरिरहेको बताए। उनले भने– ‘लिखुमा भएको काम केशव महतले गरेको हैन जनप्रतिनिधिले गरेको भन्दिनुस्। शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपि शर्मा ओलिको कुरा काटेर बसेर लिखुका बालबालिकाको भविष्य माथि खेलबाड नगर्नुस् ।’ महतले थप भने– ‘शिक्षकहरूले आफ्नो काम गर्नुस्, शिक्षालाई गुणस्तरीय बनाउन कोसिस गर्नुस्।प्रयास गर्दा नहुने केही छैन। गाउँपालिकाले भवन बनाउन लिएको जग्गामा केही स्थानीयले मुद्दा हालेको कारण भवन बन्न सकेको छैन।’ उनले भने– सर्वोच्चले त्यो मुद्दाका बारेमा आधिकारिक जवाफ नदिई पालिकाको भवन बनाउन सकिँदैन। कार्यक्रमको अध्यक्षता गरिरहेका लिखु तामाकोशी –३ का अध्यक्ष गोपालराज तामाङले यस्तो खालको कार्यक्रम पहिलो पटक आयोजना गरिएको बताए। उनले भने– ‘यस्तो कार्यक्रम कहिल्यै गरिएको थिएन। नागरिकको उपस्थिति हुनेकी नहुने भन्ने डर थियो। तर १ सय ५० बढी नागरिक आइदिनु भयो। आगामी दिनमा नागरिकको यस्तै रचनात्मक सुझाव र साथका लागि अनुरोध छ।’
