काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार पुगेर भेटेका छन् । बालुवाटार पुगेका ओली हिजो मध्यरातमा भएको नेपाली कांग्रेससँगको नयाँ सत्ता गठबन्धनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।
ओलीले भागबण्डा सबै मिलिसकेको जानकारी गराउँदै आफूहरूलाई समर्थन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । ‘राति भएको सहमति जानकारी गराए । अब हामी मिल्यौं तपाईंले पनि समर्थन गर्नुपर्यो । भागबण्डा मिलिसक्यो, तैपनि तपाईंले सहयोग गर्नुपर्यो’ भेटका क्रममा ओलीले दाहाललाई भने ।
‘म दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दै छु,’ ओलीले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्छ, ‘अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुनेछ ।’ ओलीले माओवादी केन्द्रलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गरेका छन् । ‘तपाईं पनि यो राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने गरी आउनुहोस्,’ स्रोतले भन्यो ।
