काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशन आज (बुधबार) पनि जारी रहेको छ । जारी महाधिवेशन अन्तर्गत आज चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुनेछ ।
आज समूह नेताहरूले सुझाव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा दस्तावेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको छ । १२ समूहमा कोशी प्रदेशका प्रतिनिधिहरूको एउटा समूह रहेको छ । आज १२ समूहका टोली नेताहरूले राजनीतिक, साङ्गठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधनमाथि आफ्ना सुझाव राख्ने छन् । नेतृत्व चयनको प्रक्रिया भने भोलिबाट सुरू हुनेछ ।
एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल दाबेदार छन् । नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत गर्ने तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग हुनेछ । वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गरेर असार २० गते महाधिवेशन समापन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा असार १६ गतेदेखि महाधिवशेशन सुरु भएको थियो । महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट छानिएका एक हजार आठ सय प्रतिनिधिहरुले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।
