काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाएका छन्।
बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथाङ्का अरुण परियोजनामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाएका हुन्।
उनले जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाई एउटा कम्पनी मात्रै छनोट गर्ने काम गरेको भन्दै आपत्ति जनाए। उनले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाए।
उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको बताए। सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘१९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजना र ४५४ मेगावाटको किमाथाङ्का अरुण परियोजनामा नियम मिचेर ठाडै डकैतीकै शैलीमा एउटा निर्णय गरेर दिने प्रयत्न गर्नुभयो । देशव्यापी रुपमा दबाब परिसकेपछि त्यो अहिले एउटा हिसाबले क्यान्सिल भएको छ। यसबीचमा राज्यको इज्जत नै जानेगरी मन्त्रीले कुलमानजीसँग निहुँ खोज्दा खोज्दा विद्युत प्राधिकरणमै लगेर मन्त्रीज्यूको कार्यकक्ष खडा गरेको विषय लज्जाको विषय हो।’
