काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् ।
प्रधानमन्त्रीले बुधबार मन्त्री तामाङलाई पदमुक्त गरेका हुन् । उनलाई गृहमन्त्री रमेश लेखकले टेलिफोनमार्फत् बर्खास्तीको जानकारी गराएका थिए । तामाङलाई २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरिएको थियो।
तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । उनी रामेछापबाट निर्वाचित भएका थिए ।
मन्त्रिपरिषद्को निर्णयको सार्वजनिक रूपमा आलोचना गर्दै आएका तामाङले नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए ।
तामाङ र घिसिङ दुवै रामेछापका हुन् । उनले केही समयअघि सिँचाइ विभागको एक कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यसँग मञ्चमा नबसिएको स्पष्टीकरण सोधेका थिए ।
