मकवानपुर । हेटौंडा–१६ गैरीगाउँमा जमिन अचानक भासिएर गाडी बेपत्ता भएको घटनाले स्थानीयवासीलाई त्रासमा पारिरहँदा अब यसको वैज्ञानिक कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागको टोली सक्रिय भएको छ। मंगलबार घटनास्थल पुगेको टोलीले औपचारिक अध्ययन सुरु गरेको छ।
भूगर्भविद् नारायण अधिकारीका अनुसार टोलीले माटोको तह, भूगर्भीय बनावट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रको सूक्ष्म विश्लेषण गर्नेछ। यसका लागि प्रोटोन म्याग्नेटो मिटर प्रयोग गरी एनोमेलिक पदार्थको अवस्थाबारे पनि अनुसन्धान भइरहेको छ।
गत शुक्रबार ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी भासिएर हराएको थियो। गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो र प्रारम्भमा अगाडिको पाङ्ग्रा भासिएपछि निकाल्ने प्रयास भइरहेको बेला जमिन नै सग्लो रूपमा भासिएको थियो।
तीन दिनसम्म खोजी गर्दा कुनै अत्तोपत्तो नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भ विशेषज्ञको सहयोगमा अनुसन्धान सुरु गरेको हो।
