काठमाडौं । जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङले बेलायतबाटै राजीनामा दिएको खुलासा भएको छ।
जनताको पीर मर्काले आफूले तलब खान उपयुक्त नलागेको भन्दै राजीनामा दिएकी गुरुङको वास्तविक कारण भने बेलायत बसाइ नै भएको जनाइएको छ।
भैरहवाबाट समानुपातिक कोटामा सांसद बनेकी गुरुङले तीन वर्षपछि अचानक राजीनामा दिँदै जनताको करबाट तलब लिन नहुने भन्दै संवेदनशील शैलीमा राजीनामा पत्र सार्वजनिक गरेकी थिइन्। उनले पत्रमा लेखेकी थिइन्, “राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नलागेकाले राजीनामा दिएको छु।”
गुरुङले बेलायतबाटै हस्तलिखित राजीनामा पठाएकी हुन्। राजीनामा पत्र उनका पति कैलाश गुरुङले सार्वजनिक गरेका हुन्। अब उक्त राजीनामा आधिकारिक रूपमा प्रदेशसभा सचिवालयमा दर्ता भएपछि जनमत पार्टीले उनको स्थानमा नयाँ सांसद चयन गर्ने प्रक्रिया अघि बढाउने जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए।
