काठमाडौं । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नीलो रिबन र कालो लुगा लगाएर स्टन्ट गरेको टिप्पणी गरेका छन् ।
आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाले जति नै स्टन्ट गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिअनुसार संसद चल्ने बताए ।
प्रमुख प्रतिपक्षी माओवादीसँग भएको सहमतिअनुसार नै भिजिट भिसा प्रकरणको अनुसन्धान र छानविन हुने पनि उनले प्रष्ट पारे । नेता बर्तौलाले ‘सरकारले प्रमुख प्रतिपक्षी माओवादीसँग सहमति गरेपछि पनि स्टन्ट गरिरहेको बताए ।
उनले रास्वपाले केटाकेटीको जस्तो प्रवृत्ति देखाइरहेको टिप्पणी गरे । रास्वपाको स्टन्टकै कारण आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाउनु परेको उनले बताए ।
‘प्रतिपक्षीको मुद्दा सरकारले सुन्नेमात्र होइन, कार्यान्वयन गर्न तयार छ । कार्यन्वयन गर्ने कुरा भनिसक्यो, त्यसपछि पनि रास्वपा, जुन ढंगबाट उहाँहरु विरोधमा लागिरहनुभएको छ र सम्माननीय प्रधानमन्त्रीज्यूको आजको प्रश्नोत्तर कार्यक्रम भनेको यो नियमावलीबमोजिम निर्धारण भएको विषय हो । आज उहाँले बोल्न पाउनुभएन, अवरोध सिर्जना भयो । अबरोधका बीचमा सम्माननीय प्रधानमन्त्रीलाई रोस्ट्रममा पुर्याएर नाराबाजी गराउने कुरा सोभनीय देखिएन भन्ने लाग्यो सम्माननीय सभामुखज्यूलाई उहाँले कार्यसूची हेरफेर गर्दिनुभयो,’– उनले भने ।
