सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका-१ मानपुरमा शनिबार मध्यराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरेका छन् ।
मृत्यु हुनेमा स्थानीय भुइल रायका ५२ वर्षीय छोरा होशनारायण राय यादव छन्। यादव आफ्ना १४ वर्षीय कान्छा छोरा राजकपुरसँग भैँसी गोठमा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजे अज्ञात व्यक्तिले घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।
आक्रमणपछि गम्भीर घाइते भएका यादव आफन्तलाई जानकारी दिन घरतर्फ गएका थिए।घटनापछि परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र हत्यामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
