काठमाडौं । गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको छ।
कार्यविधि अनुसार पर्यटकका रूपमा मलेसिया, खाडी, अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुक घुम्न जाने सर्वसाधारणको वार्षिक आय कम्तीमा चार लाख हुनुपर्ने छ। दुईलाख रकम बैंक खातामा हुनुपर्ने छ।
त्यस्तै हवाई टिकट लिनु अगाडि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्छ। स्वीकृतिका लागि घुम्न जानुभन्दा एक साता अगाडि नै आवेदन दिनुपर्ने प्रावधान छ। अध्यागमन विभागले आवश्यक सफ्टवेयर निर्माण गरेपछि अर्थात ३० असोजदेखि लागू हुनेगरी कार्यविधि स्वीकृत गरेको हो।
रोजगारी तथा आकर्षक तलब सुविधाको प्रलोभनमा परी भिजिट भिसामा विदेश गई अलपत्र पर्ने, ठगीमा पर्ने क्रम बढेसँगै सरकारले भिजिट भिसालाई कडाइ गरेको हो।
पछिल्लो २ वर्षको अवधिमा भिजिट भिसामार्फत विदेश जान लागेका ७ हजार ९ सय ५५ जनालाई विमानस्थलबाटै फर्काइएको विभागले जनाएको छ।
