सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ ।
नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले विद्यार्थीहरुलाइ पालिका भित्रको सम्पुर्ण जानकारी प्राप्त गर्न सक्षम बनाउने उदेश्यका साथ स्थानीय पाठ्यक्रम लागु गर्न लागेको हो ।
गाउँपालिका भित्र रहेको एक निजी सहित ३३ विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म शैक्षिक सत्र २०८० देखि स्थानीय पाठ्यक्रम लागु हुने सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले बताए ।
स्थानीय पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रम गाउँपालिका अध्यक्ष एवम शिक्षा समितिका संयोजक टपिन्द्रप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । स्थानीय पाठ्यक्रममा सुनकोशी गाउँपालिकाको परिचय, पालिका भित्रका सस्कृति संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मीत सम्पदा, घरेलु उद्योग,पशुपन्छी, माछापालन, हाम्रा पेशा व्यावसाय लगायतका नौ विषयबस्तुहरु समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक विष्णुप्रसाद न्यौपानेले बताए ।
गाउँपालिकाले वाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो भने कार्यदलले दुइ महिना लगाएर सरोकारवाला र सम्बन्धीत विज्ञहरुसँग छलफल र राय सुझाव समेटेर हाम्रो सुनकोशी नाम दिएर स्थानीय पाठ्यक्रम तयार गरेको छ ।
