काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने भएको छ। आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले सहमतिको पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार, साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोह आयोजना गरी दुबै पक्षले एकताको औपचारिक घोषणा गर्नेछन्।
सहमति पत्रमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा दुवै पक्षबीच एकरूपता रहेको उल्लेख गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएको निष्कर्ष निकालिएको छ।
पत्रमा भनिएको छ, “नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतमसहित नेताहरुबीच भएको छलफलबाट नेपालका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्न एकतामा पुगिएको हो।”
यसअघि पनि गौतम एकीकृत समाजवादी पार्टीमा जान इच्छुक थिए। तर, उनले मागेको जिम्मेवारी नपाएपछि नेकपा एमालेसँग पनि छलफल गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले उचित जिम्मेवारी दिने आश्वासन दिएका थिए।
२०७८ साउनमा नेकपा एमाले विभाजित भएपछि गौतमले ओली नेतृत्वप्रति असन्तुष्टि जनाउँदै भदौ १८ गते पार्टी त्याग गरेका थिए। त्यही बेला माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरे पनि गौतम तत्काल सो पार्टीमा नगई ‘नेकपा एकता राष्ट्रिय अभियान’ सञ्चालन गर्दै आएका थिए।
अब भने गौतमले आफू नेतृत्व गरेको अभियानलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित गर्ने निर्णय गरेका छन्।
