रक्षाबन्धन -बिशेषगरी हिन्दू धर्ममा मनाइने एक महत्वपूर्ण पर्व हो। यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र सुरक्षाको सम्बन्धलाई झल्काउँछ।सामान्यतया ‘रक्षा’ भन्नाले सुरक्षा र ‘बन्धन’ भन्नाले बन्धन वा नाता भन्ने बुझिन्छ। यसैले रक्षाबन्धनको अर्थ हुन्छ – सुरक्षाको बन्धन।
यो पर्व विशेष गरेर साउन महिनाको पूर्णिमाको दिन मनाइन्छ ।
रक्षाबन्धनको दिन दिदी वा बहिनीहरूले आफ्ना दाजुभाइलाई राखी बाँध्ने परम्परा चलिआएको छ। राखी एक प्रकारको रंगीन धागो वा डोरो हो जुन प्रेम श्रद्भाब र आशिर्वादसहित बाँधिन्छ। राखी बाँधेर दिदिबहिनीहरूले दाजुलाई मिठाई खुवाउँने, टीका लगाउने र उनीहरूको दीर्घायु, सुख र समृद्धिको कामना गर्ने गरिन्छ । त्यसैगरी दाजुभाईले पनि बहिनिहरूलाई उपहार सहित जीवनभर सुरक्षा गर्ने प्रतिबद्धता गर्छन् ।
यो पर्वले पारिवारिक सम्बन्ध बलियो बनाउने, एक अर्काप्रतिको जिम्मेवारी सम्झाउने, र सकारात्मक ऊर्जा दिने काम गर्छ।
आध्यात्मिक रूपमा रक्षा बन्धन:आत्माको रक्षा र दिव्य सम्बन्धको सम्झना
रक्षाबन्धन एक यस्तो पावन पर्व हो, जुन केवल शारीरिक नातामा मात्र सीमित छैन। यो पर्व आत्मा र परमात्माबीचको दिव्य सम्बन्ध, आत्मिक रक्षा, र पवित्रताको गहिरो सम्झना गराउने पर्व हो। आध्यात्मिक दृष्टिकोणले हेर्दा राखी भन्नेबित्तिकै सम्झना आउँछ – पवित्रता, आत्मिक सम्बन्ध, र परमात्माबाट प्राप्त सुरक्षा।
हामी सबै आत्माहरू हौं। आत्मा अमर छ, शान्त स्वरूप छ र सदा शुद्ध छ। जब आत्मा शरीरमा प्रवेश गर्छ, तब संसारिक बन्धनहरूमा फस्छ र पवित्रता बिर्सन्छ। रक्षाबन्धनको बेला, हामी परमपिता परमात्मासँग आत्मिक सम्बन्धलाई सम्झन्छौं।
राखी बाँध्नु भनेको आफूलाई पवित्र जीवनमा बाँध्ने संकल्प गर्नु हो।
यो पर्वले हामीलाई स्मरण गराउँछ
म को हुँ — म आत्मा हुँ।
मेरो पिता को हो— सर्वशक्तिमान, परमात्मा शिव बाबा।
मेरो कर्तव्य के हो — शुद्ध विचार, पवित्र व्यवहार, र आत्मिक सेवा।
जब हामी राजयोग अभ्यास गर्छौं, जब हामी आफैँलाई आत्मा सम्झेर परमात्मालाई सम्झन्छौं, तब हामीमाथि उहाँको सुरक्षाको घेरा बन्छ। संसारका विकारहरू — काम, क्रोध, लोभ, मोह, अहंकार — यी सबैबाट रक्षा पाउन पवित्रता र परमात्मासँगको योग आवश्यक हुन्छ।
याे राखीकाे अवसरमा एउटै संङकल्प गर्नु छ त्याे हाे आफुभित्रकाे अवगुणलाई हटाउने । राखी केवल धागो होइन। यो एक आत्मिक सम्झौता हो । त्यसैले यसै अवसरमा वाचा गर्नु छ –
अब म विकारहरूको दास रहनेछैन।
अरूलाई दुख दिने र कुभलाे चिताउने काम गर्ने छैन ।
अब म परमात्माको सन्तान भएर पवित्र जीवन जिउनेछु।
अब म संसारमा शान्ति, प्रेम र पवित्रता फैलाउने दिव्य दूत बन्छु।
रक्षाबन्धन आध्यात्मिक जागरणको पर्व हो। जब हामी आफ्नो आत्मालाई सशक्त बनाउँछौं, तब संसारमा पनि परिवर्तन ल्याउन सक्छौं। राखी हामीलाई सम्झाउँछ कि साँचो रक्षा केवल परमात्माबाट प्राप्त हुन्छ, र साँचो बन्धन भनेको आत्माहरूबीचको पवित्र प्रेम र सहयोग हो।
