आजको समयमा शिक्षा क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ। विद्यार्थीलाई मात्र होइन, शिक्षक स्वयंले पनि मानसिक, शारीरिक र भावनात्मक रूपमा स्वस्थ रहनुपर्ने आवश्यकता झन् बढ्दै गएको छ। धेरैले भन्ने गर्नुहुन्छ– योग त विद्यार्थीलाई चाहिने कुरा हो तर बिद्यार्थी गर्दै गर्दैनन् ,एकाग्रता नै छैन बिद्याथीमा ,तर वास्तविकता के भने शिक्षकलाई अझ बढी योगकाे आवश्यकता देख्छु म किनभने विद्यार्थीलाई ज्ञान दिने शिक्षक स्वयं स्वस्थ, सन्तुलित र ऊर्जावान नभएसम्म शिक्षण प्रक्रिया प्रभावकारी बन्न सक्दैन। शिक्षकनै तनाबमा भएसी बिद्यार्थीलाई के दिन सक्छ उसले ? त्यसैले शिक्षा क्षेत्रलाई सुधार्न शिक्षकलाई याेगकाे जरूरी छ । किनभने :
१.मानसिक सन्तुलन र तनाव व्यवस्थापन
शिक्षकको जिम्मेवारी सामान्य हदैन् । पाठ योजना बनाउनदेखि लिएर कक्षाको अनुशासन कायम गर्न, विद्यार्थीको परिणाम सुधार्न र अभिभावकको अपेक्षा पनि पुरा गर्नुपर्छ। यी सबै कार्यले शिक्षकलाई मानसिक रूपमा बिच्छि्त पारेकाे हुन्छ । योगको नियमित अभ्यासले दिमागलाई शान्त बनाउँछ, तनाव घटाउँछ र भावनात्मक सन्तुलन दिन्छ।याेग, ध्यान र प्राणायामले मनलाई स्थिर र एकाग्र बनाउँछ, जसले शिक्षणलाई सहज र रमाइलो बनाउँछ।
२. स्वर र श्वासप्रश्वासमा सुधार
शिक्षकको मुख्य हतियार भनेको आवाज हो। दिनभर पढाउँदा स्वरमा थकान आउन सक्छ, कहिलेकाहीँ गला दुख्ने वा आवाज बस्ने समस्या पनि आउन सक्छ। योगमा हुने प्राणायाम अभ्यासले फोक्सो बलियो बनाउँछ, श्वासप्रश्वासलाई गहिरो र व्यवस्थित बनाउँछ। यसले मात्र नभई आवाज स्पष्ट, मधुर र ऊर्जाशील हुन्छ। यसरी योगले शिक्षकलाई आफ्नो मुख्य शक्ति सुरक्षित गर्न मद्दत गर्छ।
३.शारीरिक स्वास्थ्य र लचकता
लामो समयसम्म उभिनु वा कुर्सीमा बस्नु शिक्षकको दिनचर्या हो। यसले ढाड दुखाइ, घुँडामा समस्या, कन्धा वा मांसपेशी कडिने समस्या ल्याउँछ। योगका आसनहरूले शरीरलाई लचिलो बनाउँछ, रगतको सञ्चार सुधार गर्छ र दीर्घकालीन रोगहरूको जोखिम घटाउँछ। त्यसैले ताडासन,भुजंगासन,त्रिकोणासन,सुर्य नमस्कार जस्ता अभ्यासले ढाड र मेरुदण्डलाई स्वस्थ राख्छन्।
४. अनुशासन र धैर्यताको विकास
विद्यार्थीका लागि शिक्षक अनुकरणीय पात्र हुन्छन्। शिक्षक स्वयंमा धैर्यता, अनुशासन र आत्मनियन्त्रण नभएसम्म ती गुण विद्यार्थीमा सार्न सकिँदैन। योग अभ्यास गर्दा धैर्यता बढ्छ, मनमा शान्ति आउँछ र अनुशासन कायम हुन्छ। यसले शिक्षकलाई मात्र होइन, विद्यार्थीलाई पनि अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्छ।
५.प्रेरणा र ऊर्जा
निरन्तर पढाउने क्रममा शिक्षक थकाइ, मानसिक दवाव र शारीरिक कमजोरीबाट गुज्रन्छन्। यस्तो अवस्थामा पढाउने उत्साह घट्छ। तर योग अभ्यासले शरीरलाई ताजा राख्छ, निरन्तर ऊर्जा दिन्छ र पढाउने कामलाई रमाइलो र प्रेरणादायी बनाउँछ। स्वस्थ शिक्षकले मात्र विद्यार्थीलाई उत्साहित बनाउन सक्छ।
त्यसैले विद्यार्थीलाई मात्र होइन, शिक्षकलाई अझ बढी योग आवश्यक छ। योग अभ्यासले शिक्षकलाई मानसिक शान्ति, शारीरिक स्वास्थ्य, आवाजको मजबुती, धैर्यता, अनुशासन र निरन्तर प्रेरणा दिन्छ।
अन्ततः, स्वस्थ शिक्षक नै स्वस्थ विद्यार्थी निर्माणको आधार हो। त्यसैले, प्रत्येक शिक्षकले योगलाई आफ्नो दैनिक जीवनमा स्थान दिन जरुरी छ।
