काठमाडौं । बिमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् ।
बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । उनको कार्यकाल करिब १ महिना बाँकी थियो ।
अध्यक्षका लागि क्लिकमान्डुका विषेश सम्वाददाता एवं वरिष्ठ प्रबन्धक शरद ओझा, बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं, पूर्वराजस्व सचिव रामशरण पुडासैनी, डा. दामोदर बसौला लगायत १२ जनाले आवेदन दिएका छन् ।
यी हुन् प्राधिकरण अध्यक्षका लागि आवेदन दिएका १२ जना
कमल प्रसाद रेग्मी
डा देवराज रोका
शरद ओझा
चिरञ्जिवी चापागाईं
विष्णुबाबु मिश्र
बुद्धकाजी श्रेष्ठ
दामोदर बसौला
डिमप्रसाद पौडेल
रामशरण पुडासैनी
विक्रान्त पाण्डे
रमण नेपाल
विनोदकाजी श्रेष्ठ
आवेदेन दिएका मध्ये रेग्मी बिमा प्राधिकरणका निर्देशक हुन् भने चापागाईं साविकको बिमा समितिका अध्यक्ष भइसक्का व्यक्ति हुन् । क्लिकमान्डुका विषेश सम्वाददाता एवं वरिष्ठ प्रबन्धक रहेका ओझा प्राध्यापन पेसामा पनि संलग्न छन् । अधिवक्तासमेत रहेका उनीसँग पोलिसी कन्सल्टिङको काम गरेको अनुभव छ । त्यस्तै पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् भने रमण नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं नागरिक लगानी कोषका पूर्वप्रमुख हुन् । उनी हाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष छन् ।
विक्रान्त पाण्डे लामो समयदेखि विभिन्न बिमा कम्पनीमा काम गरेका व्यक्ति हुन् । पछिल्लो समय उनले नेपाल इन्स्युरेन्समा उपमहाप्रबन्धकको जिम्मेवारीबाट बाहिरिएका हुन् । त्यस्तै आवदेन दिएका डिमप्रसाद पौडेल नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक हुन् । दामोदर बसौला स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष हुन् । डा. देवराज रोका (कल्याण) युवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन् । विष्णुबाबु मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)हुन् । त्यस्तै बुद्धकाजी श्रेष्ठ तत्कालीन युनाइटेड इन्स्योरेन्सका सञ्चालक हुन् ।
सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो । आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि तीन जनाको सर्ट लिस्ट अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा चयन गर्ने छ ।