काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने संकेत गरेको छ ।
आइतबार मन्त्रालय आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले वैशाख १३ मा राजपत्रमा सूचना निकालेर असार मसान्तसम्मका लागि रोक लगाइएको प्रतिबन्ध आवश्यक परे बढ्ने बताएका हुन् ।
आयात प्रतिवन्धलाई लिएर कुनै अन्तर्राष्ट्रिय दबाव नभएको पनि सचिव पाण्डेयले दाबी गरे । आयात रोकका कारण अर्थतन्त्रमा परेको योगदानबारे अध्ययन भइरहेको पनि उनले बताए । सरकारले गत वैशाख १३ गते १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभि पनि आयात प्रतिबन्धको सूचीमा छन् ।