काठमाडौं । पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले उक्त सुरुङमार्ग राणाकालमा नै बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन् । टुकुचा सुरुङबारे अध्ययन गर्न बनाएको समितिको यो प्रमाणित सँगै टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना पुरातात्विक सम्पदा पुष्टि हुनसक्ने आधारहरु भेटिएका छन् ।
महानगरपालिकाले भूमिगत संरचना खोतल्ने र खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले एक अध्ययन समिति बनाएको थियो ।
पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वको समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको छ । त्यसकै आधारमा समितिले प्रतिवेदन लेखन थालेको छ र दशैंअघि नै प्रतिवेदन पुरातत्व विभागमा पेश गर्ने बताएको छ ।
अध्ययनका क्रममा महानगरले सुरुङ खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा ‘श्री-३ वीर’ लेखेको भेटाएको छ । सुरुङ बनाउन भने सादा इँटाहरु पनि प्रयोग भएको पाइएको छ ।
उनका अनुसार सुरुङ बनाउन इँटासँगै सुर्की चुना प्रयोग गरेर निर्माण भएको पाइएको छ । गुम्बज आकारमा इँटाहरु जोडेर निर्माण भएको सुरुङमा पानी बगाउन ठाउँ-ठाउँमा भर्याङजस्तो आकारमा छाँगा बनाउँदै काठमाडौं प्लाजासम्म पुर्याएको पाइएको छ ।
सिधा बगाउँदा ओरालो नभएर पानी जम्ने खतरा हुने भएपछि ठाउँ-ठाउँमा अग्ला कन्लाजस्तो बनाउँदै जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म पुर्याएको हुनसक्ने अध्ययनमा सहभागी एक अधिकारीले बताए ।
यसअघि नै टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भएका थिए । तर, महानगरपालिकाले खोला अतिक्रमण गरेर बनाइएको भन्दै त्यसलाई खुला गर्न ठाउँ-ठाउँमा डोजर चलाएको थियो ।
