काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो ।
बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् ।
तर, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीका विषयमा टुंगो लागेको छैन । भावि प्रधानमन्त्रीका लागि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दाबी पेश नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ ।