काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताएका हुन्। ‘प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो। सम्माननिय प्रधानमन्त्रीज्यू! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न / गराउन अविलम्ब पहलको माग गर्दछु’, शर्माले लेखेका छन्।
गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरू अहिले कारागार चलान भएका थिए।
