काठमाडौं । गत असार २४ गते पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट जेल चलान भएका छन्।
वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतको आइतबारको आदेशअनुसार जेल चलान गरिएको हो। जिल्ला अदालत सुर्खेतले विष्टसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।
यो प्रकरणमा मुछिएका अन्य दुईजनालाई भने अदालतले जनही दुई(दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको अदालतका सूचना अधिकारी उज्वल रावलले बताए। असार २४ मा वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाही पक्राउ परेका थिए।
उनीहरुले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेर लगेको आरोपसहित उपभोक्ताका समितिका सदस्यहरुले प्रहरीमा जाहेरी दिएका थिए। गुरुङ र शाहीले वडाध्यक्ष विष्टलाई २ लाख रुपैयाँ दिएको स्वीकारेपछि विष्टलाई पनि पक्राउ गरिएको थियो।
वडाध्यक्ष विष्टले आफूमाथि लागेको आरोप झुटो भएको बताउँदै आएका थिए। यसअघि उनै वडाध्यक्ष विष्टले वीरेन्द्रनगर नगरपालिकामै गत वैशाखमा एकजना उपसचिवमाथि मुक्का प्रहार गरेका थिए। उनले मुक्का प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
वडाध्यक्ष विष्टले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका थिए। सडकको नाली निर्माणका क्रममा विवाद हुँदा सुरुमा कार्कीले धकेलेपछि विष्टले उफ्रिएर मुक्का हानेका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।