सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरुको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न निःशुल्क अध्यापन गराउने भएको छ।
तीनपाटन गाउँपालिका क्षेत्रभित्रका स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनगरी रहेका र गर्न चाहने बुहारीहरुलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क नलिने निर्णय गरेको हो।
गाउँपालिकाले ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ। कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनैपनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ।
साथै महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजानसक्ने व्यवस्था सूचनामा उल्लेख छ।
अभिभावक समेत नभएमा सम्बन्धित वडाको महिला बडा सदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक र स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानु पर्ने व्यवस्था गरेको छ।
त्यस्तै क्याम्पसले प्रकृया पूरा गरी भर्ना हुन आउने दलित समुदायभित्रका छोरी/बुहारीलाई भर्ना गर्ने व्यवस्था मिलाउने र अभिलेख प्रयोजनका लागि भर्ना हुँदाका बखतको फोटो अनिवार्य खिच्न गाउँपालिकाले भनेको छ।