काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्यूजिल्याण्डलाई पराजित गरेको छ । आज (शनिबार) बिहान सम्पन्न खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले हराएको हो । टी–२० विश्वकपमा अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएको यो पहिलो पटक हो ।
अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १५.२ ओभरमा मात्रै ७५ रन बनाउँदै अल आउट भयो । प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जीत हो । यसअघि टोलीले युगाण्डालाई १२५ रनको विशाल अन्तरले हराएको थियो ।
न्यूजिल्याण्डलाई सस्तोमा समेट्न फजाल्हाक फारूकीले ४ विकेट लिए । उनले ३.२ ओभरमा मात्र १७ रन खर्चिए । त्यस्तै रशिद खानले पनि चार विकेट लिए । खानले पनि चार ओभरमा १७ रन मात्रै दिए । न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ बलमा १८ रन तथा म्याट हेनरीले १७ बलमा १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भए भने गुरबाजले सर्वाधिक ८० रन बनाए । अज्मतुल्लाह ओमरजाईले १३ बलमा २२ रनको योगदान दिए । न्युजिल्याण्डका लागि ट्रेन बोल्टर म्याट हेनरीले २–२ विकेट लिए । लोकी फर्गुसनले १ विकेट हात पारे ।