काठमाडौं । जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ ।
जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको बताए ।
उनले आफूहरू खोलाको पानीको ‘क्लोज मोनेटरिङ’ मा रहेको बताउँदै मुहान क्षेत्रमा ठुलो पानी परेर खोलामा लेदो बग्न थाल्यो भने पानी पथान्तरण तुरुन्त बन्द गरिने जानकारी दिए ।
२०७८ असार १ गते तथा साउन १६ र १७ गते भ्रेमथाङबाट आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स संरचनालाई तहसनहस बनाएको थियो, जुन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । गत वर्ष असार २० गते पानी पथान्तरण बन्द गरिएको थियो भने माघ १ गतेदेखि उपभोक्ताको धारामा पानी पठाउन सुरु गरिएको थियो ।
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ कोे नीति तथा कार्यक्रम वर्षभरि नै मेलम्चीको खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाइएको छ ।