डडेल्धुरा । कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व गरिएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेल्धुरा सदरमुकाममा बजार र राजमार्ग बन्द गरिएको हो। घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जानकारी दिएका छन्।
कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ। मृतकका दाइ जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो। शरीरभर निलडाम छन्, घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ ।’ मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन्।
बैंकिङ्ग कसुरमा पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो। कैलाली प्रहरीले पालीलाई पक्राउ गर्नुअघि कञ्चनपुरको महेन्द्रनगरमा पनि उनलाई दुई घण्टा हिरासतमा राखिएको बताइएको छ। त्यहाँ प्रहरीले उनीबाट रकम असुली गरेको आरोप पनि आफन्तले जनाएका छन्।
