काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा छेडखानी गर्ने व्यक्ति पत्ता लगाउन आज छानबिन समिति गठन हुँदै छ ।
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभाबाट समेत पारित विधेयकको ‘कुलिङ पिरियड’ प्रावधान खण्डित हुने अर्को व्यवस्था रहेको खुलेपछि छानबिन गर्न संसद्ले विशेष समिति बनाउन लागेको हो ।
सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठकले जालझेल गरिएको विषयमा छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुईरदुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एकरएकजना सदस्य रहनेछन् ।
समितिको नेतृत्व कांग्रेसले गर्ने र उक्त समितिमा को को रहने भन्ने व्यक्तिहरूको नाम आज घोषणा हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । आज बिहान ११ बजे प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक डाकिएको छ । उक्त बैठकले छानबिन तथा अध्ययनका निम्ति १५ वा २१ दिनको समय दिँदै समिति गठन गर्नेछ ।
समिति सदस्यहरुको नामावली आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरिनेछ । बैठकबाट समिति गठनको निर्णय अनुमोदन गर्ने दलहरूबीच सहमति भइसकेको छ । सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको थियो । तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियड निष्प्रभावी हुने प्रावधान थपिएपछि विधयेक हेरफेर गर्ने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै सर्वत्र विरोध भएको थियो ।
