काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरे ।
निजगढमा विमानस्थल बनाउँदा वन मासिने भन्दै आफूले पहिले नै विरोध जनाएको र अहिले सर्वाेच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ ।
निजगढबाट १५ मिनेटमै सर्लाही पुगिने र पूर्व–पश्चिम राजमार्गमा जोडिएको सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने साहको जोड छ ।
बिहीबार सर्वाेच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको भोलिपल्टै शुक्रबार उनले मौखिक रुपमा संसदमा उक्त प्रस्ताव गरेका हुन् ।