काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले समझदारीअनुसार नै मन्त्री परिवर्तन गर्न थालिएको बताए । उनले सुरु मै आलोपालो गरेर मन्त्री बन्ने समझदारी भएअनुरूप मन्त्री हेरफेर गरिएको दाबी गरे ।
नेता पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपालले सचिवालय बैठकको निर्णयअनुसार नै मन्त्री हेरफेर गरेको पनि उल्लेख गरे ।
‘माधव कुमार नेपालले कुनै पनि निर्णय एकलौटीरूपमा लिनुहुन्न, उहाँले सबै निर्णय नीति नियममा टेकेर छलफल गरेरै मन्त्री हेरफेर गर्नुभएको छ’, नेता पाण्डेले भने ।
उनले मन्त्री हेरफेरलाई कारवाहीकोरुपमा नलिन पनि आग्रह गरे । मन्त्रिमण्डल गठन गर्ने बेलामै ६ महिनाका लागि भन्ने निर्णय गरेर सरकारमा सहभागी भएकाले कारवाही गरियो भन्ने भ्रममा नपर्न नेता पाण्डेले प्रष्ट पारे । उनले बाम गठबन्धन हुनसक्ने पनि खुलासा गरे ।
केपी शर्मा ओलीसँग सहकार्य हुनसक्छ त भन्ने प्रश्नमा नेता पाण्डेले भने, ‘राजनीतिमा सहकार्य नहुने भन्ने हुनै सक्दैँन, बाम गठबन्धन हुनसक्ने सम्भावना म देख्दैँछु ।’