काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ ।
पर्साको वीरगञ्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ।
भट्टराईका साथै गंगानारायण श्रेष्ठ, हिसिला यमी, प्रशान्त सिंह, महेन्द्र राय यादव, दानबहादुर चौधरी, भक्तबहादुर शाह, रमेश यादव र दुर्गा सोब पदमुक्त भएको संस्थापन पक्षका एक नेताले बताए।
वीरगञ्जको बैठक बहिस्कार गरेको भट्टराई पक्षले काठमाडौंमा मंगलबार र बुधबार भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो।
यसैबीच पार्टीकी कार्यकारिणी सदस्य रेणुकुमारी यादव पार्टीबाट अलग भएकी छिन्। व्यक्तिगत कारण उनले बिहीबार साँझ जसपासँगको सम्पूर्ण पदीय जिम्मेवारी त्याग गरेको घोषणा गरेकी हुन्।
यादव यसअघि भौतिक पूर्वाधार मन्त्री थिइन् । जसपाले केही दिनअघि सरकारमा नयाँ मन्त्री पठाएपछि उनी फिर्ता भएकी हुन्।