काठमाडौं । बजेटमा करको दर हेरफेर गरेको काण्डमा दोषी नदेखिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीमा ‘पुर्नबहाली’ हुने भएका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले शर्मालाई नै पुनः अर्थमन्त्रीमा निरन्तरता दिने निर्णय गरेसँगै शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका हुन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको स्रोतले दाबी गरेको छ।
पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। त्यसपछि उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिनेछन्।
यसअघि शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि असार २२ गते पदबाट राजीनामा दिएका थिए। सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो।
समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाए पनि बहुमतका आधारमा समितिले प्रतिवेदन बुझाएको छ ।