काठमाडौं। सांसद शेरबहादुर तामाङले औषधिको ब्राण्डका पछि दौडिदा स्वास्थ्योपचार महंगो भएकोले स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।
आजको प्रतिनिधिसभाको बैठकमा सांसद लक्ष्मी परियारले दीर्घ रोगी र मृगौला पीडितहरुलाई सरकारले ल्याएको प्याकेज जनमैत्री भएको भन्दै कार्यान्वयनमा सहजता प्रदान गर्न आग्रह गरे ।
सांसद लक्ष्मी चौधरीले स्वास्थ्य बिमालाई व्यवस्थित पार्दै विपन्न समुदायसम्म यसको पहुँच पुग्नुपर्ने कुरामा जोड दिए ।
सांसद गिरिराजमणि पोखरेलले सरकार पश्चिमा चिकित्सामुखी भएको र राष्ट्रिय स्वास्थ्य प्रणालीलाई परिवर्तन गर्न नसकिएको बताए । स्वास्थ्य क्षेत्रका धेरै विषयहरु परिवर्तन हुनुपर्ने उनको धारणा छ ।
सांसद डा. डिला संग्रौलाले जनताले महंगो स्वास्थ्यसेवालाई थेग्न नसकेर अकालमै ज्यान गुमाउने अवस्था भएकोले यसमा सुधार गर्नका लागि निजी अस्पताललाई स्तरोन्नती गरी जनमैत्री बनाउन आवश्यक रहेको बताए।
नेपाल सरकारले स्वास्थ्य क्षेत्रका छुट्याएको बजेट अन्य क्षेत्रभन्दा बढी भएपनि त्यसको प्रभावकारिता सफल नभएको धेरैको बुझाइ छ । सरकारी अस्पतालको सेवा दुरुस्त नहुँदा पनि निजी अस्पतालहरु मोटाउने क्रम जारी छ ।