काठमाडौं । आज बिहीबारदेखि सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा बिहीबारदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।
आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् । त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । देशका बाँकी ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ ।