पछिल्लो एक महिनायता ललितपुरमा ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगु फैलिएको हाे । कोभिड संक्रमणदरसँगै डेंगु पनि देखिएकाले स्वास्थ्यकर्मी परिचालन अपुग भएको छ ।
असार १५ यताको तथ्यांकअनुसार संक्रमितमध्ये ६१ जना महानगर र अन्य आठजना महालक्ष्मीका छन् । ललितपुर महानगरपालिकाको मानभवन, सानेपा, बागडोल, थसिखेल, महालक्ष्मीस्थान, पाटन, कुमारीपाटी, तिखेदेवल र महालक्ष्मी नगरपालिकाको इमाडोल र लुभु क्षेत्रमा डेंगु भेटिएको छ । यीमध्ये महानगरको वडा नम्बर ५ र १४ मा पर्ने थसिखेल र महालक्ष्मीस्थानमा मात्रै ४२ जना डेंगुका विरामी भेटिएका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले यस वर्ष सोचेभन्दा धेरै डेंगु फैलिएको बताए । अधिकारीहरूले आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने चिन्ता जनाएका छन् ।