काठमाडौं । सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।
सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।
‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। शिलशिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘ उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’
सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए। पीडितका कागजातबारे भने आफू अनभिज्ञ रहेको उनले बताए।
‘उमेरको विषयमा म अझै अनभिज्ञ छु। मसँग कागजातहरू भएन। मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन,’ उनले भने, ‘सन्दीपले श्रीमानसमक्ष बाटोमा कुराकानी हुँदा पीडितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ।’
हाल काठमाडौं जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। असोज २० गतेदेखि लागू हुने गरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो।
यस्तै, यस मुद्दालाई चाँडो टुंगोमा पुर्याउन पनि वकिलहरूले माग गरेका छन्।
