काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित प्याराग्लाइडिङ उडान आजबाट खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ वटा शर्त अघि सार्दै देशभरका प्याराग्लाइडिङ उडान सूचारु गर्न अनुमति दिएको छ ।
उडान भर्ने पाइलटहरु स्वास्थ्य परीक्षणमा योग्य ठहरिएमा मात्र उडान दिनुपर्ने लगायतका शर्तहरु १५ दिनभित्र नेपाल हवाई खेलकुद संस्थाले कायान्वयन गर्ने सहमति भएपछि नियमित उडान सूचारु गर्ने निर्णय भएको प्राधिकरणको फ्लाइट अपरेसन्स महाशाखाका उपप्रबन्धक विनय गिरीले बताए ।
गत असोज ३० गते उक्त खेलको क्रममा आकाशबाट एक सय मीटर तल भुईंमा खसेका त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निशिम थापाको मृत्यु भएको थियो । त्यसलगत्तै प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरिएको थियो ।
