सृजना रोका ।
रामेछाप । दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक च्यात्दै चकटी बुनिरहेकी चमेलीको आफ्नै छुट्टै कथा छ । परबाट हेर्दा आँखा देख्ने मानिसले जस्तो हातको काम गरिरहेको देखे पनि चमेलीले आँखा देख्न छाडेको १५ बर्ष भै सक्यो । उनको पुरा नाम चमेली मगर हो । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँकी ४० वर्षिया चमेलीको दुवै आँखा बन्द छन् । ठप्पै छन् ।
आँखा नदेखे पनि उनलाई हेरचाहा गर्ने कोहि छैनन् । उल्टै उनि आफ्ना सात छोरिहरूको हेरचाहमा कटिन्छिन् । छोरीहरूलाई पढाउने, घर व्यवहार धान्ने सबै जिम्मा चमेलीकै थाप्लोमा छ । हुन त चमेलीका आठ छोरीहरू हुन । उनकी जेठी छोरिको भने बिवाह भै सक्यो । अझै सात वटी छोरीको लालनपालन, पठनपाठन लगायतका सबै जिम्मेवारी उनकै काँधमा छ । उनकी माइली र साईली छोरी जुम्ल्याहा हुन् । उनीहरु १२ कक्षामा पढ्छन् । काइली ८, ठाइँली ६, अन्तरी ५ , जन्तरी ३ र कान्छी १ कक्षामा पढ्छन् । आँखा बन्द भएपछि जन्मिएका हुन उनका थप चार छोरीहरू ।
सानी छोरीलाई सुम्सुम्याउदै चमेली भन्छिन्– “ मेरो आँखामा पहिले देखि नै समस्या नभएको भने होइन । सानै उमेरदेखि बारम्बार धमिलो देख्ने, टाढाको बस्तु नदेख्ने समस्या थियो । तर १५ वर्ष अघि चौथो छोरी जन्मिएपछि भने मेरो दुवै आँखाका ज्योती गुमे । मेरा आँखा बन्द भए ।मेरा लागि दिन र रातमा केहि फरक भएन ।“
आँखाको उपचारका लागि चमेलीका श्रीमान अम्बरबहादुर ठाडामगरले कोसिस नै नगरेको भने होईन । चमेलीका अनुसार उनका श्रीमानले आफ्नो बुताले भ्याएसम्म आँखा उपचारको लागि कोसिस गरे । थाहापाए सम्मका अस्पताल लगे । सम्पति होउञ्चेल खर्च गरे । ठाउँ ठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पुर्याउन भ्याए । तर अम्बरबहादुरको त्यो कोसिस केहि काम लागेन । अन्ततः चमेलीको आँखाको ज्योती फर्किएन ।
आँखा नदेख्ने समस्या सँगै चमेलीको जीवनमा अर्को बज्रपात थपियो । चमेलीले आफ्नो जीवनसाथीलाई सदाका लागि गुमाए । उनि बेसाहारा बनिन । उनले आफ्नो श्रीमान बितेको समेत देख्न पाईनन । मात्रै महशुस गर्न सकिन ।
भावुक बन्दै चमेलीले भनिन– “श्रीमान् नै गुमाएपछि संसार हेर्ने इच्छा हरायो । जिन्दगिमा खुसिका दिन सकिएको अनुभुति भयो । आँखाको ज्योति गुमाउदा भन्दा जीवनसाथी गुँमाउदाको पीडा असह्य हुने रहेछ । अब त जिन्दगिमा एउटै लक्ष बाँकी रहेको थियो – साना छोरीहरूलाई कसरी हुर्काउने ? कसरी पढाउने? के खुवाउने ? आफू नै आँखा नदेख्ने त्यसमाथी ७–७ छोरीहरूको लालनपालन र पठनपाठनको जिम्मेवारी आयो ।“
सुरुसुरुमा त छिमेकीहरुले धेरै सहयोग गरे । सहयोग भन्ने कुरा कहाँ सँधै हुन्छ र ? सबैको आफ्नो–आफ्नो घर व्यवहार चलाउनै पर्यो । छोरीहरूलाई खुवाउनै समस्या पर्न थाल्यो चमेलीलाई । अझ पढाउन लाग्ने थप खर्च, औषधि उपचार खर्च आदी–ईत्यादी त छँदै थियो ।
हुन त समस्याले नै संघर्ष गर्न सिकाउँछ भन्छन् । चमेलीलाई समस्या सँगै बाध्यताले जगड्यो ।त्यसपछि उनले घर खर्च चलाउनका लागि हाते काम सुरु गरिन् । मकैको खोस्टा तथा बिस्कुट अनि चाउचाउको प्लाष्टिकबाट चकटी बनाउन थालिन । पराल – खरको डाला बुन्न थालिन । बाख्रा तथा भैँसी बाँध्ने दाम्लो, नाम्ले पनि बाट्न थालिन । त्यहि बेचेर उनले खरखाँचो टार्ने मेसो बनाईन ।
चमेलीलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ । छोरीहरूलाई पढ्न विभिन्न संघ संस्थाले सहयोग गरेको मन्थली नगरपालिका–९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरण बताउछन । आरण भन्छन– सरकारले चमेलीलाई रातो कार्ड दिएर सामाजिक सुरक्षा भत्ता दिइरहेको छ ।
अहिले त चमेलीका छोरीहरु पनि ठूला भए । खेतीपातिको काममा छोरीहरुले सघाउँछन् । घर वरिपरिको काम चमेली आफै गर्छिन ।उनि घाँस काट्ने, बस्तुलाई हाल्ने लगायतका काम आफै गर्छिन ।
यो संसार हेर्ने रहर कसलाई हुँदैन र ? चमेलीलाई पनि यो संसार पुनः हेर्ने रहर भएको उनि बताउँछिन । उनि भन्छिन् – छोरिहरूको बिहे भएको आफ्नै आँखाले हेर्ने मन छ । यो संसार देखाउन कसैले सहयोग गरिदिए हुन्थ्यो । अझै भगवान माथिको भरोसा सकिएको छैन ।