काठमाडौँ । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।
तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् ।
कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ ।
कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।
बोर्ड सदस्यहरूको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो । बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ ।
तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरूको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारी कृष्णहरि बरालले बताए ।
क्यान्सर अस्पतालको बोर्ड सदस्य ६ जना खाली छ । नियुक्ति गर्ने ६ जनाको नाम स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । तर, प्रचण्डले स्वास्थ्यमन्त्रीले बुझाएको नाममा चित्त नबुझाएका कारण भागबन्डा हुन नसकेको हो ।