काठमाडौँ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनास्थलनजिकै रहेका सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको तर उनीहरूको पहिचान भइसकेको र एक जना भने बेपत्ता रहेको बताए ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ ।
हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।