काठमाडौं । काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् । वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-५ जेठलकी काजलले उक्त उपलब्धि हासिल गरेकी हुन् ।
अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि उमेरले भर्खर २६ पुगेकी श्रेष्ठले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताएकी छन् । अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।
फोर्थ डान ब्ल्याकबेल्टधारी श्रेष्ठले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको बताइन् । उनले त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दा खेल्दै आएकी छन् । सानै उमेरदेखि तेक्वान्दो खेलमा लागेकी काजलले सन् २०१४ मै ताइवानमा भएको दशौँ जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी थिईन् भने २०१९ मा नेपालमै भएको १३औं सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् । त्यस्तै, उनले सन् २०२३ अगष्टमा कोरियामा भएको एमबीसी कप अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा रजत पदक जितेकी थिईन ।
लिसंखु पाखर गाउँपालिकाले पनि खेलविधालाई विशेष प्राथमिकतामा राख्ने गरेको छ । गत जेठमा अजरबैजानमा भएको विश्व तेक्वान्दो प्रतियोगितामा भागलिन जाने क्रममा गाउँपालिकाले खेलाडीलाई हौसला र प्रोत्साहनको लागी भन्दै गाउँपालिकाले उनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।