काठमाडौं । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा संखुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना बेपत्ता भएका उनले बताए ।
दुवै जनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’ मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए ।
वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ । बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरूको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।