काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झुटो आरोप लगाएकामा केपी शर्मा ओलीले माफी माग्नुपर्छ कि पर्दैन भनेर एमालेलाई प्रतिप्रश्न गरेका छन् ।
सोमबार बालुवाटारमा बसेको तीन दलको बैठकमा एमाले नेताहरुले काँग्रेस नेताहरू खास गरी महामन्त्री शर्माको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अनावश्यक आरोप लगाएको भन्दै एमाले नेताहरुले काँग्रेसले लिखित र सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका थिए ।
काँग्रेस महामन्त्री शर्माको जवाफ छ, ‘काँग्रेसलाई झुटो आरोप लगाउँदा माफी माग्नुपर्ने, काँग्रेसले प्रतिवाद गर्दा माफी माग्नुपर्ने ? नेपाल हो यो, उत्तर कोरिया होइन ।’
गिरिबन्धु टी-स्टेटको २४३ बिघा भन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको सरकारका पालामा बनेको कानुनलाई खारेज गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा त्यो निर्णयलाई नीतिगत भ्रष्टाचार भनिएको छ । यो सार्वजनिक भएपछि फैसलामाथि नै प्रश्न उठाउने क्रममा ओलीले १४ जेठको संसदीय दलको बैठकमा काँग्रेसमाथि कमिसन खाएर ७० बिघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको आरोप लगाए ।
जबकि ओली भनेको ५१ बिघा जग्गा हस्तान्तरणको निर्णय गर्दा मनमोहन अधिकारी र १९ बिघाबारे निर्णय गर्दा सूर्यबहादुर थापा नेतृत्वको सरकार रहेको खुलेको छ ।
त्यसपछि काँग्रेस नेताहरुले ओलीको भनाइको प्रतिवाद गरे । पछिल्लो पटक महामन्त्री शर्मा आक्रामक सुनिएका छन् । उनले सहकारी प्रकरणमा एमाले नबोलेको र गिरीबन्धुमा रास्वपा मौन बसेको भन्दै सहकारी बन्धु गठबन्धनको संज्ञा दिएका छन् ।
प्रमुख तीन दलको शनिबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले अनावश्यक लाञ्छना लगाएको भन्दै आपत्ति जनाएका थिए । आइतबार काँग्रेसले गरेको प्रदर्शनमा महामन्त्री शर्माले यो मुद्दामा थप चर्कोसँग उठाए ।
त्यसलाई लिएर सोमबार तीन दलको बैठकमा एमाले नेताहरुले काँग्रेसले माफी माग्नुपर्ने बताएका हुन् । बालुवाटारमा बसेको तीन दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘सहकारी प्रकरणमा आन्दोलन गर्ने, अनि एमाले र एमालेका अध्यक्षविरुद्ध बोल्ने ? काँग्रेसले यी आरोपप्रति लिखित रूपमा क्षमा माग्नुपर्छ, सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’
काँग्रेस महामन्त्री शर्माले भने ओली स्वयंले पहिले काँग्रेसलाई आरोपित गरेको नबिर्सन आग्रह गरे । ‘गिरिबन्धुमा अदालत बोलेपछि केही बोलेकै थिएनौँ, ओलीले फायर खोल्नुभयो र भन्नुभयो– काँग्रेसले बेचेर कमिसन खायो’, उनले भने, ‘ओलीको आरोप तथ्यहीन थियो, उहाँले त्यो फिर्ता लिनुभएको हो ?’
ओलीले तथ्यहीन आरोप लगाएपछि तथ्य राखेर प्रतिवाद मात्र गरेको महामन्त्री शर्माले बताए । ‘सँगै मिलेर संविधान बनाएका हौँ, गलत भए पनि आरोप लगाउन, गाली गर्न उहाँलाई संविधानतः छुट, अनि प्रतिवाद गर्न काँग्रेसलाई बन्देज ?’ उनले प्रश्न गरे ।