रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता रहेका ४ मध्ये पुड्की पहरीको शव आज भेटिएको प्रहरी निरीक्षक दिनेश थापाले बताए । ३ जना अझै वेपत्ता छन् ।
अविरल वर्षाका कारण शनिबार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएकाहरु मध्ये अहिलेसम्म चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दिप पहरी, सन्तोष पहरी, विज्ञान पहरी र पुड्की पहरीको शव भेटिएको छ ।
सोही पहिरोमा काले पहरी, झ्याउकुरी पहरी र विन्दा पहरी अझै वेपत्ता छिन् । ११ वर्षीय घाईते अञ्जना पहरीको काठमाडौंमा उपचार भैरहेको छ । पहिरोले ३ वटा घर बगाएको र एउटा घर पुरिएको छ । बेपत्ताको उद्धार कार्य जारी छ ।