काठमाडौँ । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश पुगेको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन गरेका हुन् ।
नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको बिजुली तेस्रो देशमा समेत विस्तार भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको हो ।
नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात मध्याह्न साढे १२ बजेबाट शुक्रबार राति करिब ११ः३० बजे सम्म निर्यात भएको हो । त्यसपछि आगामी वर्ष सन् २०२५को जुन १५बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमश ः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो । केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाहरूबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५–नोभेम्बर १५सम्म पााच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलोपल्ट डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रूपैयाँमा हुँदै आएको छ ।
प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात गर्दा २८ हजार १६० डलर (३७ लाख ९३ हजार ४३३ रूपैयाँ) पाउने छ । बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ ।
मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।
