काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति एलन मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उनको सचिवालयले बताएको छ ।
ओलीले मस्कलाई भनेको उद्धृत गर्दै उनका प्रेस संयोजक रामशरण बजगाईंले भने ‘ट्रम्पलाई जिताउन तपाईंको निर्णायक भूमिका रह्यो भन्ने मैले सुनेको छु, ‘म ट्रम्पलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु । नेपाल अमेरिकाबीचको सम्बन्ध अझै नयाँ उचाइमा पुग्ने मेरो विश्वास छ ।’
मस्कले ओलीलाई धन्यवाद दिएका थिए ।मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए । उनले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएका थिए ।
प्रधानमन्त्री र मस्कबीच माइक्रोसफ्ट टिम्समार्फत ११ मिनेटजति कुराकानी भएको थियो ।
