काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी कागजात कीर्ते गरेर अनुचित लाभ लिएको भन्दै अख्तियारले सिलवालविरुद्ध मुद्दा दायर गरेको हो । सिलवालले नपाएको ओहदा पाएँ भन्ने झुट्टा विवरण दिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो । उनीविरुद्ध ३६ लाख ६२ हजार १५४ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।
सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साउन १६ गतेबाट ६६औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही ९ महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको अभियोगपत्रमा उल्लेख छ ।