Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

    सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

    By सूचनापाना२९ पुष २०८१, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    –सोमनाथ लामिछाने
    काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरुले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए । सुदूरपश्चिम अब टाढा होइन, आम नेपालीको मनमुटुमा र केन्द्रमै छ भन्ने सन्देश त्यहाँ देखिन्थ्यो, सुनिन्थ्यो ।

    SuchanaPana.com

    देशको भूगोलमा त सुदूरपश्चिम टाढै छ, तर धेरै कुरामा केन्द्रमा छ । राजनीति होस् या कला सङ्गीत, प्रशासन होस् या सुरक्षा । अनेक आयाममा राष्ट्रको केन्द्रमा छ सुदूरपश्चिम । यी क्षेत्रमा प्रायः प्रभावशाली भूमिकामै देखिन्छ यो प्रदेश ।अहिले पनि सुदूरपश्चिम प्रदेशबाट सङ्घीय मन्त्रिपरिषद्मा सङ्ख्या र प्रभावका आधारमै महत्वपूर्ण जिम्मेवारीमा छन् । यसअघि पटकपटक सुदूरपश्चिमले मुलुकको शासनको बागडोर सम्हालेको त छँदैछ ।

    यसबाहेक संस्कृति, पर्यटन र प्रकृतिको कुरा गर्ने हो भने पनि अरूभन्दा सम्पन्न छ, सुदूरपश्चिमको भूगोल । धार्मिक पर्यटकीय क्षेत्र, जलस्रोतको अथाह भण्डार, जडीबुटीसमेत अनेकन प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मानिन्छ यहाँको माटो । यति हुँदाहुँदै पनि यो क्षेत्रमा पर्यटन होस् या अन्य पूर्वाधारले भने अपेक्षाकृत कमी नै छ यहाँ । जलविद्युत् उत्पादनमा केही लगानी त देखिन्छ तर मुलुकको निजी क्षेत्र खासै ठूला परियोजनामा यहाँ अघि सरेको देखिएको छैन ।

    सायद यसैकारण पनि हुनसक्छ राजधानी काठमाडौँबाट निकै टाढा भएकैले आफूहरु हेपिएको गुनासो यहाँका आम मानिसमा व्याप्त छ । सरकार र निजी क्षेत्र दुवैको लगानी सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा अन्य प्रदेशको तुलनामा कमै रहेको मात्र होइन मानव विकास सूचकाङ्कमा पनि यी दुवै प्रदेश धेरै पछि रहेका छन् तर यतिखेर भने सुदूरपश्चिममा पूर्वाधारको लगानीमा उत्सुकता देखिन थालेको महसुस भएको छ ।

    खासगरी पर्यटन पूर्वाधार निर्माण, उद्योग स्थापना तथा मेडिकल कलेज स्थापना जस्ता केही क्षेत्रमा निजी क्षेत्र आकर्षित हुन थालेका छन् । रोजगारीको विकराल समस्या भोगिरहेको सुदूरपश्चिमबाट बर्सेनि हजारौँ मानिस छिमेकी भारतका विभिन्न सहर, बजारमा कामका लागि भौँतारिरहेको अवस्थामा नेपालभित्रै रोजगारी सिर्जना गर्ने प्रयत्न हुनु आफैमा ठूलो उपलब्धि हो ।

    यही सिलसिलामा हालै मात्र आइएमई समूहले सुदूरपश्चिममै पहिलो पटक झण्डै पाँच अर्ब लगानीमा जाल्पादेवी केबलकार निर्माण गर्नेगरी शिलान्यास गरेको छ । पछिल्ला वर्षहरुमा सरकारी एवं निजी क्षेत्रको लगानी खुम्चिरहेको र लगानीकर्ताहरुमा संशयका बीच कैलालीको कर्णाली पुल नजिक चिसापानीमा जोखिम मोलेर यति ठूलो लगानीमा केबलकारसहित पर्यटन पूर्वाधार बन्न लागेको छ । नेपालसहित सीमावर्ती भारतीय पर्यटकलाई समेत आकर्षित गर्नेगरी निर्माण हुन लागेको यस पर्यटन पूर्वाधारमा केबलकारसहित पाँचतारे होटल, बालउद्यान, जिपलाइन, क्यासिनो समेतका संरचना बन्न लागेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए ।

    निजी क्षेत्रबाट सुदूरपश्चिममा यति ठूलो लगानी भएकै यो पहिलो हो, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले भने, ‘हामी जोखिम मोलेरै यो ठाउँमा आएका छौँ । यस परियोजनाले अरूलाई पनि सुदूरपश्चिममा लगानी गर्न उत्प्रेरित गर्ने हाम्रो विश्वास छ । देशका सातै प्रदेशमा कम्तीमा एउटा केबलकारसहित होटल तथा अन्य एकीकृत पर्यटकीय संरचना निर्माणको अभियानअन्तर्गत सुदूरपश्चिम आइपुगेका छौँ ।’

    सुन्दर कर्णाली पुल तर्नासाथ सुदूरपश्चिम प्रदेश सुरु हुन्छ । यो पुलको पश्चिमतर्फ कैलाली जिल्लामा निर्माण हुने यो बृहत् पर्यटन पूर्वाधारको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालै शिलान्यास गरेकी हुन् । यो पूर्वाधार सुदूरमै लगानीको नयाँ ढोका खुल्न लागेको शिलान्यास समारोहमा मन्त्री डा. राणासहितका सहभागी मन्त्रीहरु र पर्यटन व्यवसायीहरुले बताएका थिए ।

    अध्यक्ष ढकालका अनुसार झण्डै ३.२ किलोमिटर लामो यस केबलकारले चिसापानी र मोहन्याल गाउँपालिकाको राजकाँडालाई जोड्नेछ । यो नेपालमा हाल सञ्चालित केबलकारमध्ये सबैभन्दा लामो हो । यसमा ४० वटा गोन्डोला रहने पनि ढकालले जानकारी दिए । विश्वकै उत्कृष्ट इटालियन कम्पनीका उपकरण जडान गरेर निर्माण हुने यस केबलकारले कैलालीको सबैभन्दा दुर्गम मानिएको मोहन्याल गाउँपालिकाको राजकाँडालाई जोड्नेछ । तुलनात्मक रुपमा हरेक मौसममा चिसो हावा बहने राजकाँडाबाट कर्णाली नदी, उत्तरतर्फ अपी र सैपाल हिमाल, सुर्खेत, डडेल्धुरा समेतका धेरै जिल्लाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

    जाल्पादेवी केबलकार निर्माणको शिलान्यास समारोहमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. राणाले कर्णाली नदी पश्चिममा लगानी गर्न निजी क्षेत्र आउनु प्रदेशकै लागि गौरवको कुरा भएको बताइन् । ‘हामी त वर्षौंदेखि यो दिनको पर्खाइमा थियौँ, आज त्यो दिन आएको छ । अब अरू व्यवसायीलाई पनि सुदूरपश्चिम आउने ढोका खुलेको छ । सुदूरपश्चिममा त जनता पनि गरिब छन् । यहाँ साधनस्रोत पनि छैन, लगानी उठ्दैन भन्ने धेरैको सोचलाई अब यो परियोजनाले बदलिदिएको छ । कसै न कसैले जोखिम लिनै पर्थ्याे, आइएमई ग्रुपले यो आँट लिएर अरूलाई पनि अब यहाँ आउन ढोका खोलिदिएको छ’, मन्त्री डा. राणाले भनिन् ।

    वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि सुदूरपश्चिममा निजी क्षेत्रले यति ठूलो परियोजना विकास गर्न थालेकामा खुसी हुँदै भने, ‘पूर्वाधार निर्माणमा वन क्षेत्र बाधक भए त्यसलाई सुल्झाउन र सहजीकरण गर्न वन मन्त्रालय तयार रहेको छ । हामी निजी क्षेत्रसँग हातेमालो गर्न तयार छौँ ।’ अझ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न चाहने निजी क्षेत्रका लागि जमिन, विद्युत् र सडक निर्माणमा सहजीकरण गरी उपयुक्त वातावरण तयार गर्न हरक्षण तत्पर रहेको बताए । आफूहरुले प्रदेशमा लगानी सम्मेलन आयोजना गरेको, निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई प्रदेशमा लगानीका लागि निरन्तर संवाद र आग्रह गरिरहेको बताउँदै उनले चिसापानीमा केबलकार बनाउने योजना सुनेदेखि नै आफूले सहजीकरण गरिरहेको सुनाए ।

    कैलालीका उद्योगी एवं जाल्पादेवी केबलकार परियोजनाका साझेदार सूर्यबहादुर थापाले केबलकार निर्माणका क्रममा आफूहरुले अनेकन चुनौतीको सामना गरे पनि अन्ततः सफलतातर्फ उन्मुख भएको बताए। उनले भने, ‘सरकार र निजी क्षेत्र मिलेर सिङ्गो सुदूरपश्चिमका आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यहरुलाई विकास गर्नुपर्छ । यी पूर्वाधार निर्माणले यहाँ रोजगारी सिर्जना हुनाका साथै राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।’

    सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा पनि चिनिन्छ । यो प्रदेशसँगै महाकालीपारिको भारतको उत्तराखण्ड क्षेत्र समेतमा थुप्रै मठमन्दिर रहेकाले यो समग्र क्षेत्रलाई देवभूमि भन्ने गरिएको हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गम क्षेत्र खप्तड पर्यटकीय रुपमा महत्वपूर्ण छ । यहाँ त्रिवेणीधामका साथै २२ पाटन छन्। समुद्री सतहबाट तीन हजार दुई सय २७ मिटरको उचाइमा रहेको यो क्षेत्र दुई सय २५ वर्ग किमीमा फैलिएको छ । कैलालीको कर्णाली नदीमाथि बनेको एक खम्बे (स्टेट केबुल ब्रिज) पुल, तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा एक महिना बसेर राजकाज गरेको इतिहास रहेको कैलालीको टीकापुरस्थित टीकापुर उद्यान, कैलालीकै घोडाघोडीस्थित विश्व रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्र यहीँ छ ।

    यसैगरी, बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सोही जिल्लाको महाकाली नदी माथि बनेको नेपालकै लामो मध्येको झोलुङ्गे पुल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला, अजयमेरुकोटको दरबार, अछामको रमारोशन क्षेत्र (१२ ताल अठार ठूला मैदान भएको क्षेत्र), वैद्यनाथधाम, चुरे पहाडको फेदमा रहेको कैलालीको गोदावरीधाम क्षेत्र, सीमापारि भारतीय नागरिकका कुलदेवता मानिने कैलालीको बेहँडाबाबा धाम, डडेलधुराको उग्रतारा मन्दिर, घटाल बाबाको मन्दिर र महाकाली नदी किनारको पर्शुराम धाम, डोटीको शैलेश्वरी मन्दिर र बड्डीकेदारधाम, बैतडीको त्रिपुरासुन्दरी मन्दिर, निङ्लाशैनी र भूमेश्वर महादेवको गुफा, बाजुराको बडिमालिका आदि मुख्य छन् ।

    कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर कर्णाली चिसापानीमा केबलकार स्थापनाको योजनाले प्रदेशको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने बताउँछन् । होटेल, रेष्टुरेन्ट, यातायातलगायत क्षेत्रको गतिविधि पनि बढ्न गई समग्रमा आर्थिक समृद्धिमा टेवा पुग्नेछ । चिसापानी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केन्द्र भाग रहेकाले यहाँ बन्न लागेको केबलकार मुख्यगरी भारतीय पर्यटकलाई लक्षित गरेर स्थापना गर्न लागिएको भन्दै उनले भने, ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेश नजिकका भारतीय क्षेत्रमा केबलकार सञ्चालनमा नरहेकाले चिसापानीमा केबलकारको योजना ल्याउनु निकै सान्दर्भिक छ ।’ उनले भने, ‘हाम्रो यहाँ त्यति धेरै जनसंख्या छैन, भारतको उत्तरप्रदेशमा झण्डै २४ करोड बढी जनसंख्या छ, आन्तरिक पर्यटकसँगसँगै भारतीय पर्यटकलाई भित्र्याउन सकेमा केबलकारको योजनाले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ ।’

    मोहन्याल गाउँपालिकाका प्रमुख देवीदत्त उपाध्यायले विकास पूर्वाधारका दृष्टिले सबैभन्दा पिछडिएको चुरे पहाडमा अवस्थित मोहन्यालको आर्थिक विकासमा यस परियोजना निर्माणले ठूलै टेवा दिने विश्वास व्यक्त गरे। मोहन्याल क्षेत्रमा उत्पादन हुने वस्तुको खपत हुने, स्थानीय जनताले उत्पादित वस्तुको राम्रो मूल्य पाउने, ‘होम स्टे’ अझ फस्टाउने तथा गाउँपालिका क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।

    कैलालीको चिसापानी समेत ठूलो बजार र औद्योगिक क्षेत्र ओगटेको लम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाहीले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रुपमा रहेको चिसापानीमा केबलकार निर्माणले पर्यटकीय गतिविधि बढ्ने र व्यावसायिक पूर्वाधार निर्माणमा निजी क्षेत्र थप उत्साहित हुने बताए । सुदूरपश्चिमको कैलाली चिसापानीमा निर्माण हुने यस पूर्वाधारले सुदूरपश्चिमका साथै लुम्बिनी क्षेत्रका नेपालगञ्ज, बर्दिया समेतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउने व्यवसायी सूर्यबहादुर थापाको भनाइ छ ।

    हुन पनि कर्णालीवारि लुम्बिनी प्रदेशको बर्दिया छ भने पुल तर्नासाथै दाहिनेपट्टिबाट लाग्ने बाटोले छोटो दूरीमै सुर्खेत भएर कर्णाली प्रदेशलाई जोड्छ । अनि केबलकार निर्माणस्थल त सुदूरपश्चिमको कैलाली भइहाल्यो । जसरी यो स्थान तीन प्रदेशको सङ्गमस्थल छ त्यसैगरी, पर्यटनको पनि त्रिवेणी छभन्दा हुन्छ । किनभने कर्णालको र्याफ्टिङ र बर्दिया राष्ट्रिय निकुञ्ज त पर्यटनका विश्वप्रसिद्ध आकर्षण नै हुन् । त्यसैले आफैमा सुन रहेको यो ठाउँमा केबलकारले सुगन्ध थप्ने विचार शिलान्यास समारोहमा उपस्थित स्थानीयले राखेका थिए । रासस

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.