काठमाडौं । शनिबार तनहुँको रामशाह माविको ५४औं वार्षिकोत्सव थियो । जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ मा रहेको सो विद्यालयको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि थिए, राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति एवं सांसद स्वर्णिम वाग्ले । सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित वाग्ले शुक्रबारसम्म पोखरामा थिए । आफ्ना सभापति रवि लामिछाने पोखरा कारागारबाट रिहा भएपछि वाग्ले उनको विदाईपछि तनहुँ पुगेका थिए ।
विद्यालयको वार्षिकोत्सवमा पुगेपछि उनलाई विद्यालयले अनौठो तरिकाले स्वागत गर्यो । विद्यालयमा पुगेलगत्तै ‘सुपर म्यान’ जसरी जिपलाइनबाट एक विद्यार्थीले उनलाई माला लगाएकी थिइन् । भने, अर्की सुपरम्यान बनेकी विद्यार्थीले वाग्लेमाथि पुष्पवृष्टि गरेकी थिइन् ।
पुष्पवृष्टि गर्ने विद्यार्थी कक्षा ८ मा र माला लगाउने विद्यार्थी कक्षा ७ मा अध्ययनरत रहेको बताइएको छ । उनीहरुले विद्यालयको चौथो तलाबाट जिपलाइनमार्फत झुण्डिएर वाग्लेसहितका अतिथि भएको स्थानमा पुगेर फूलको वर्षा गराएका थिए । त्यसरी जोखिम मोलेर जनप्रतिधिलाई स्वागत गराएको भन्दै अहिले विद्यालयको आलोचना भइरहेको छ ।
तर, रामशाह माविका प्रधानाध्यापक प्रेमराज लामिछाने भने उक्त आलोचना स्वीकार गदैनन् । उनले भने, ‘गरेको धेरै माथिबाटै हो । चौथो तलाबाट हो । दुर्घटना हुने सम्भावना थिएन । हामीले सबै पूर्वतयारी गरेका थियौं । उहाँहरु स्काउटको तालिमप्राप्त विद्यार्थी हुन् । स्काउट मास्टरले तयारी गराउनु भएकाले बाहिर भनेजस्तो कुनै जोखिम थिएन ।’
उनले सांसद स्वर्णिम वाग्ले उक्त स्वागतपछि रमाएको पनि बताए । ‘उहाँहरुलाई कल्पना पनि थिएन होला त्यसरी स्वागत गरिन्छ भनेर । सबैजना खुसी हुनुभएको थियो’ उनले भने । साथै प्रधानाध्यापक लामिछानेले आफूहरुले विद्यालयको थप नीतिगत सुधारका लागि सांसद वाग्लेसामू विभिन्न माग पनि राखेको बताए ।